सर्लाही, २९ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीले व्यक्तिको डेटाबेसमा भएको विवरणमा अनधिकृतरुपमा फेरबदल गरेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा कम्तीमा ३ जना व्यक्तिको विवरणमा फेरबदल गरेको पाइएपछि ललितपुरको महालक्ष्मी–३ बस्दै आएका २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर–१३ बस्दै आएका २८ वर्षीय आशिषबाबु कुमाल पक्राउ परेका छन् ।
सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार, उनीहरुले जन्ममिति लगायतका महत्त्वपूर्ण विवरणमा फेरबदल गरेको भेटिएपछि अनुसन्धान सुरु भएको थियो । बायोमेट्रिक विवरणसमेत परिवर्तन गर्न खोजेपछि कार्यालयले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको उनले बताए ।
‘केही लाभ लिएर यो काम भएको जस्तो देखिन्छ, त्यसबारे अनुसन्धान गरिरहेका छौं,’ केसीले भने, ‘अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएर अनुसन्धान थालेका छौं ।’
