सर्लाही, २९ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
सर्लाही जिल्ला प्रहरी कार्यालय लालबन्दी लगायत मातहतका प्रहरी कार्यालयबाट १०० जना र सशस्त्र प्रहरी सुरक्षा बेस हरिवनबाट ३० जना गरी जम्मा १३० जनाको संयुक्त प्रहरी टोलीले करिब ४० बिग्हा क्षेत्रफलमा फैलिएको दुई लाखभन्दा बढी गाँजाका बोट फडानी तथा नष्ट गरेको हो ।
अवैध लागूऔषध नियन्त्रण तथा चुरे क्षेत्र संरक्षणलाई ध्यानमा राख्दै सञ्चालन गरिएको उक्त अभियानका क्रममा ठूलो परिमाणमा गाँजाको खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध लागूऔषधको उत्पादन, ओसारपसार र कारोबारविरुद्ध यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।


