सर्लाही, ०१ पुष । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त नगर्दै सत्ता साझेदार दलहरु बिच खटपट सुरु भएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले पुर्णता नपाउँदै सत्ता साझेदार मध्येका तेस्रो ठूलो दल जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० औं हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेपनि सो मन्त्रालयको जिम्मेवारी अहिले नेकपा समाजवादीका कनिश पटेललाई दिएपछि जनमतका बरिस्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक संजाल मार्फत सरकारबाट बाहिरिने सम्मको चेतावनी दिनुभएको छ ।

भागवन्डाको नाममा मुख्यमन्त्री यादवले सो मन्त्रालयको जिम्मेवारी अन्य दललाई दिएर सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पारेको, यसअघिका मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समेत रहनु भएका कुशवाहाको आरोप छ ।

“ जनमत पार्टीको उदेश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तैयार हुनु पर्छ । ” कुशवाहाले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको १० दिनपछि कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सोमबार मात्र माओवादी केन्द्रका जवाहर कुशवाहालाई उर्जा, सिँचाइ तथा खानेपानी र लोसपा नेपालकी रानी कुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त गर्नुभएको थियो भने यसअघि विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएका एकीकृत समाजवादीका कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोक्नु भएको थियो ।

पुस ४ गते विश्वासको मत लिने तयारी गरेकै बेला मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सत्ता साझेदार दोस्रो ठूलो दल जसपा नेपाल भने अहिलेसम्म सहभागी भएको छैन ।

यसअघिका जनमतका सतिशकुमारसिंह, लोसपा नेपालका जितेन्द्र प्रसाद सोनार सोनल र एमालेका सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्त गर्ने छाँटकाँट नदेखे पछि राजिनामा दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *