सर्लाही, ०१ पुष । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनकी प्रधान सम्पादक चन्द गत शनिबार महोत्सव स्थलमा क्यामेरामा बोलिरहँदा दुई युवाले उनलाई धक्का दिएर दुर्व्यवहार गरेका थिए ।

दुर्व्यवहार गर्ने धनगढीको चौराहा बस्ने गाडीचालक मनीष श्रेष्ठ र धनगढी उत्तरबेहडीका विकास भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

श्रेष्ठलाई सोमबार साँझ र भट्टलाई मंगलबार बिहान पक्राउ गरिएको हो । भिडियोका आधारमा प्रहरीले उनीहरूको पहिचान गरेको हो ।

चन्दले आफूमाथि भएको दुर्व्यवहारमा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

गलत नियतले आफूमाथि धक्का दिएको उल्लेख गर्दै चन्दले अन्य महिलामाथि यस्तो दुर्व्यवहार नहोस् भनेर उजुरी दिएको बताइन् । सार्वजनिक भएको भिडियोमा चन्दलाई नियतवश धक्का दिएको देखिन्छ ।

 नेपाल पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्तिमार्फत दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाउँदै संलग्नलाई कारबाहीको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *