सर्लाही, ०१ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएका २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ ।

विरोध सभामा सम्बोधन गर्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाए । उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले अघि सारेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।

सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चौधरी र मिरा मण्डल, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव, कविलासी नगरपालिकाका पूर्व मेयर कौशल किशोर यादवलगायत स्थानीय तहका नेताहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

वक्ताहरूले सरकार जनताको समस्या समाधानप्रति गम्भीर नदेखिएको भन्दै आफ्ना मागहरू पूरा नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *