सर्लाही, ०१ पुष । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा साेमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।

विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ६०/७० बिघाकै उखु जलेको बताउनुभयो ।

करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिव ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।

मेयर यादवले आगलागीबाट करिव ३ करोडको उखु जलेको बताउनुभयो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको मेयर यादवको भनाइ छ ।

आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक/डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको मेयर यादवले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *