सर्लाही, ०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । सर्वसम्मतिबाट नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व छानिने भएको हो ।

मतदान भृकुटीमण्डपमा हुनेछ । केन्द्रीय निर्वाचन आयोगले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ तर उम्मेदवारहरूको नाम र फोटोसहित विद्युतीय मेसिनमा डाटा इन्ट्री गर्न समय लागेकाले मतदान केही ढिला हुन सक्ने प्राविधिकहरूले बताएका छन् ।

यस पटक पार्टीले पहिलो पटक विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दै छ र मतदानका लागि ८० वटा मेसिनको व्यवस्था मिलाइएको छ ।

राम लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार उम्मेदवारको सङ्ख्या धेरै भएकाले डाटा इन्ट्रीमा समय लागिरहेको छ । एक जना मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा कुल २ हजार २६३ जना प्रतिनिधि सहभागी छन् । उनीहरूले ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी कुल ३५१ पदका लागि मतदान गर्नेछन् ।

केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्षमा २, उपाध्यक्ष (५ पद) मा ११, महासचिवमा २, उपमहासचिव (३ पद) मा ७ र सचिव (९ पद) मा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच मुख्य प्रतिस्पर्धा हुँदै छ । महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि दुवै प्यानलबाट व्यापक प्रतिस्पर्धा देखिएको छ ।

यसैबिच केही पदहरूमा निर्विरोध निर्वाचन भएको छ । लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल, मधेसी कलस्टर युवातर्फ अमरकुमार यादव, समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा, पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियातर्फ हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनि युवातर्फ नरेश रोकाया र सुनिलकुमार थापा गरी ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

हिजो राति उम्मेदवारी दर्ता सम्पन्न भएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । विद्युतीय मतदान प्रणालीका कारण मतगणना छिटो हुने र नतिजा चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *