सर्लाही, ०२ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जल, जमिन र जंगलको संरक्षण गर्न सबै सरोकारवाला निकायलाई आह्वान गरेको छ । पार्टीले हाल देशभर ती प्राकृतिक स्रोतहरूमाथि बढ्दो अतिक्रमण र दोहनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका अनुसार नेकपा (माओवादी) सधैं देश र जनताको पक्षमा संघर्षरत रहँदै आएको छ । जनताको न्यायका लागि विभिन्न अवसरवादी शक्तिहरूलाई परास्त गर्दै ठूला आन्दोलन र संघर्षको नेतृत्व गरेको पार्टीले आफूलाई जनताको पक्षमा आवाज बुलन्द गर्ने क्रान्तिकारी शक्तिको रूपमा अगाडि बढाएको दाबी गरेको छ ।
जारी गरिएको प्रेस विज्ञप्तिमा जल, जमिन र जंगलमाथि भइरहेको दोहनप्रति चिन्ता व्यक्त गर्दै स्थानीय स्वायत्त शासन ऐन २०७४ ले तोकेको मापदण्डअनुसार सबै क्रसर उद्योग, हाइड्रोपावर तथा भेनियर उद्योगहरूलाई आ–आफ्ना नियम र मापदण्डको पालना गर्न सादर अनुरोध गरिएको छ ।
उक्त मापदण्ड पालना नगरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले व्यहोर्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको छ ।

