सर्लाही, ०२ पुष । नेपाल विद्युत प्राधिकरण मलंगवाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आफ्नै कार्यालयबाट खटिएको संयुक्त टोलीले विद्युत चुहावट नियन्त्रण गर्नका लागि अनुगमन तथा कारबाही गरेको छ ।
संयुक्त टोलीले मलंगवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाका विभिन्न स्थानहरूमा अवैध रूपमा डाइरेक्ट हुकिङ गरी विद्युत चोरी गरेर संचालन गरिएका समर्सियल पम्पहरूको लाइन काटिएको छ ।
अनुगमनका क्रममा विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका विभिन्न विद्युतिय उपकरण तथा मिटरहरू नियन्त्रणमा लिइएको जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरण मलंगवाका अनुसार नियन्त्रणमा लिइएका उपकरण र संलग्न व्यक्तिहरूविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
प्राधिकरणले विद्युत चोरी नियन्त्रण तथा चुहावट न्यूनीकरण गर्न यस्ता अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।
