सर्लाही, ०२ पुष । सर्लाही सदरमुकाम मलंगवामा निर्माण सम्पन्न भएको तीन वर्षपछि नयाँ बसपार्क सञ्चालनमा आएको छ । लामो प्रयासपछि मलंगवा नगरपालिका–२, स्थित जिल्ला प्रहरी कार्यालय नजिक निर्मित बसपार्क सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिका कार्यालयमा बसेको बैठकले पुस १ गतेदेखि बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मलंगवा नयाँ बसपार्कबाट बस छुट्न सुरु भएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिए ।
बस व्यवसायीले मलंगवा नगरपालिका–९, मा वर्षौदेखि प्रयोग गर्दै आइरहेको कृषि विकास बैङ्कको जग्गामा रहेको पुरानो बसपार्क छाड्नै मानेका थिएनन् ।
कृषि विकास बैङ्कले आफ्नो जग्गामा रहेको बसपार्क खाली गराइदिन स्थानीय प्रशासनलाई पत्र लेखेरै आग्रह गरिसकेको छ । उक्त जग्गामा आफ्नै भवन बनाउने कृषि विकास बैङ्कको तयारी रहेको छ ।
सुविधासम्पन्न नयाँ बसपार्क निर्माण भएपछि पनि बजारको बिचमा रहेको पुरानो बसपार्कबाटै बस छुट्ने गरेकाले बजार क्षेत्र अस्तब्यस्त बनेको गुनासो निरन्तर आइरहेको थियो ।
नयाँ बसपार्कमा बस राख्ने र त्यहाँबाट छुटेर राजश्री चोक, टावर चोक हुँदै जिविस चोकमा बस निकाल्ने व्यवस्था मिलाइएको हो । घिमिरेका अनुसार टेम्पु, म्याजिकसहितका साना सवारीलाई भने मलंगवा नगरपालिका जिविस चौकस्थित तिन बिघे मैदानमा पार्किङ गरेर त्यहाँबाट मात्रै छुट्ने व्यवस्था मिलाइएको छ । तर मंगलबार बिहानैदेखि म्याजिक, टेम्पुलगायत साना सवारी चालकले जिविस चोकमा चक्काजाम गर्दै आफूहरु पनि बसपार्कबाटै छुट्न पाउनुपर्ने माग गरेका छन् ।
म्याजिक तथा अन्य साना सवारी नयाँ बसपार्क उद्घाटन भएदेखि सोही बसपार्कबाट छुट्ने गरेका थिए । तर अहिले आएर नगरपालिका कार्यालयले तिन बि३े मैदानमा पार्किङ गर्न र त्यहीँबाट संचालन हुन भनेपछि विरोध गरिएको हो ।
म्याजिक तथा अन्य मम्झौला यातायातका संघले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बसले झैँ बसपार्कमै पार्किङको सुविधा पाउनुपर्ने र त्यहीँबाट संचालन हुन पाउनुपर्ने माग राखेका थिए ।
सङ्घीय सरकारले ८ करोड ३१ लाख रुपियाँ खर्चिएर निर्माण गरेको बसपार्क केही समयअघि नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
बसपार्कमा टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतिक्षालय, वर्कशप क्षेत्र, पार्किङसहितको सुविधा रहेका छन् । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निरन्तर प्रयासपछि बसपार्क सञ्चालन गर्न सफल भएको बताए । सिडिओ कडरियाले जिल्लामा हाजिर भएदेखि नै बसपार्क सञ्चालनका लागि पहल सुरु गरेका थिए ।
