सर्लाही, ०३ पुष । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीको गरगहना र पैसासहित चारजनालाई पक्राउ गरेको छ ।
बिहीबार इलाका प्रहरी कार्यालय लालबन्दीले प्रेस नोट जारी गर्दै चोरीका गरगहना, बिक्री गरेको रकम र संलग्न चारजनासहित घटना सार्वजनिक गरेको हो ।
लालबन्दी क्षेत्रमा केही दिनयता घर फोडेर श्रृंखलाबद्ध चोरीका घटना भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा अनुसन्धान गर्दा चोरीका गरगहनासहित घटनामा संलग्न चारजना पक्राउ परेका इलाका प्रहरी लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१० चन्द्रपुर बस्ने आरके ज्योलर्सका सञ्चालक ४२ वर्षका रमेश विश्वकर्मा, वडा नम्बर ६ बस्ने साईरा ज्वलर्सका सञ्चालक ३१ वर्षका कुमार विश्वकर्मा, धन्कौल गाउँपालिका–६ घर भई लालबन्दी नगरपालिका–७, डेरा गरी बस्ने ३५ वर्षकी पिंकीदेवी साह र लालबन्दी– २२ (नाम परिवर्तन) रहेका छन् ।
घटनामा संलग्नमध्ये लालबन्दी–२२ चोरीमा संलग्न मुख्य अभियुक्त रहेको र साह चोरीका गरगहना बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
दुवैजना सुनचाँदी पसल सञ्चालकहरूले भने कागजातबिनाको चोरीका गरगहना किन्ने गरेको प्रहरीले जनाएको हो ।
चोरीमा संलग्न लालबन्दी–२२ को बयानको आधारमा प्रहरीले उनी बस्ने लालबन्दीस्थित कोठा खानतलासी गर्ने क्रममा दराज र सेफमा लुकाएर राखेको अवस्थामा एक लाख ४४ हजार नगद, एक थान चोरीको तीलहरी समेत बरामद गरेको थियो ।
बरामद तिलहरी भने केही दिन पहिला लालबन्दी नगरपालिका–९, बस्तीपुर बस्ने प्रमोदकुमार लुईटेलको घरबाट चोरी भएको पीडितबाट सनाखत भएको प्रहरीले जनाएको हो ।
घटनाका अभियुक्तहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए ।
जिल्ला सदरमुकाम मलंगवा क्षेत्रमा समेत केही दिनदेखि दिउँसै घरको झ्याल र ढोका फोडेर श्रृङ्खलाबद्ध चोरी भइरहेको स्थानीयको गुनासो छ ।
