सर्लाही, ०३ पुष । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक सडक तथा फुटपाथ अतिक्रमण गरी संचालन गरिएका विभिन्न पेशा, व्यवसाय र निर्माण गरिएका अवैध संरचनाका कारण सर्वसाधारणले सास्ती भोग्नु पर्दा उक्त संरचनाहरु हटाउन आग्रह गरेको छ।
नगरपालिकाका अनुसार सडक पेटी तथा सार्वजनिक स्थानमा पराल, छाडा पशु चौपाया, गोबर, गोइँठा, गोरहा, बालुवा, गिट्टी, इँट्टा, पुराना तथा थन्क्याइएका गाडी लगायतका सामग्री राखिँदा आवागमनमा बाधा पुग्नुका साथै शहरको सौन्दर्यकरणमा समेत नकारात्मक असर परेको छ ।
यस समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सम्बन्धित सबैलाई ७ दिनभित्र सडक र फुटपाथमा राखिएका सामग्री हटाई नगर तथा शहर क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।
तोकिएको समयसीमाभित्र अतिक्रमण तथा अवैध सामग्री नहटाए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत नगरपालिकाले जानकारी दिएको छ ।

