सर्लाही, ०३ पुष । सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौनामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३१२ जनाको आँखा परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा ७४ जनामा मोतिविन्दु फेला परेपछि ती सबैको मलंगवा नगरपालिकाद्वारा निःशुल्क आँखा उपचार केन्द्र, मलंगवामा सफलतापूर्वक मोतिविन्दुको शल्यक्रिया गरिएको मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णुकान्त साहले जानकारी दिएका छन् ।
मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंसिर २७ गतेदेखि खुटौनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

शिविरको अध्यक्षता मलंगवा नगरपालिका–६ का वडा अध्यक्ष राम कैलाश रायले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि मलंगवा नगरपालिकाका प्रमुख नागैनद्र प्रसाद यादव रहेका थिए ।
स्थानीय बासिन्दाहरूका लागि घरदैलोमै निःशुल्क आँखा परीक्षण र उपचारको व्यवस्था हुँदा सेवाग्राहीहरूले राहत महसुस गरेका छन् । नगरपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

