सर्लाही, ०४ पुष । मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्र सहित विभिन्न परियोजनामा भारत सरकारले अढाई अर्बभन्दा बढीको अनुदान दिइएको छ । भा
रतीय महावाणिज्य दूतावास वीरगन्जबाट प्राप्त तथ्यांकअनुसार भारत सरकारद्वारा हालसम्म मधेस प्रदेशमा जम्मा ८६ वटा योजनाहरूलाई स्वीकृत गरिएको छ ।
जसमा प्रत्येक योजनाहरूको लागत ३ करोड देखि ३ करोड ५० लाख नेपाली रुपैयाँको लगानी भएको छ । यस अनुपातमा समग्र योजनामा २ अर्ब ५८ करोड भन्दा बढी रकमको लगानी गरिएको छ ।
स्वीकृत योजनाहरू मध्ये ६१ वटाको काम सम्पन्न भइसकेको छ भने २५ वटा माथि काम भइरहेको जनाइएको छ ।
जसमध्ये ५२ वटा योजना शिक्षा क्षेत्रको, ६ वटा स्वास्थ्य क्षेत्रको, ८ वटा सडक र पुलको, एउटा नदीको बाँध निर्माण, २ वटा सिँचाइ र ३ वटा संस्कृति क्षेत्रसँग सम्बन्धित रहेका छन् ।
त्यसैगरी ५ वटा योजना विद्युत्तीकरण र ९ वटा मिश्रित योजनाहरू सञ्चालित छन् । प्रदेशभरीमा सबैभन्दा बढी २१ वटा भारतीय स्वीकृत योजना धनुषा जिल्लामा सञ्चालित छन् ।
जसमध्ये १३ वटा सम्पन्न भइसकेको र ८ वटा माथि काम जारी रहेको जनाइएको छ ।
भारत—नेपाल विकास सहयोग तथा साझेदारी अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नेपाल सरकारको प्राथमिकतामा पर्ने क्षेत्रहरू जस्तै विद्यालय, कलेज, अस्पताल, पानी निकासी व्यवस्था, नदी बाँध निर्माण जस्ता क्षेत्रमा पर्याप्त क्षमताको निर्माण र नयाँ संरचना निर्माणका परियोजनाहरूमा काम हुँदैछ,’ महावाणिज्य दूतावासका कन्सुल जनरल देवी सहाय मीणा भन्छन्, ‘यो सबै परियोजनाहरू नेपाल सरकारसँग मिलेर यहाँका बासिन्दाहरूको जीवनलाई राम्रो बनाउने र उनको समग्र विकासका लागि कार्यान्वयनमा ल्याइएको हो ।
यस परियोजनाको उद्देश्य नै स्थानीयहरूको जीवन पद्धति उत्थानमा नेपाल सरकारको प्रयासहरूलाई बलियो बनाउने र निरन्तर सहयोग गर्नु हो । ’
शुक्रबार सोही परियोजना तहत धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सीयाहीमा अवस्थित बैधनाथ देव नारायण सामुदायिक विद्यालयको ३ करोड ७० लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न नव निर्मित भवनको भव्य समारोह बीच उद्घाटन समेत गरिएको हो ।
सो भवनमा केमेस्ट्री, फिजिक्स र कम्प्युटर लैब सहित ३७ वटा कक्षाकोठा, पुस्तकालय, स्टाफ रुम, शौचालय, कार्यालय सहितको व्यवस्थापन गरिएको छ ।
