सर्लाही, ०४ पुष । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार भीषण आगलागी हुँदा करिब ६० देखि ७० बिघा क्षेत्रफलमा लगाइएको उखु बाली जलेर नष्ट भएको छ । आगलागी मुना चौँधरीको उखु खेतबाट सुरु भई आसपासका दर्जनौँ किसानको उखु बालीमा फैलिएको स्थानीयवासीले बताएका थिए ।

स्थानीय पीडित किसान तथा जनप्रतिनिधिहरूले विद्युतको तार सर्ट भई आगलागी भएको गुनासो गरेपछि नेपाल विद्युत प्राधिकरण मलंगवा केन्द्रबाट प्रादेशिक प्रमुख प्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा सूक्ष्म प्राविधिक विश्लेषण गरेको थियो ।

निरीक्षणका क्रममा घटनास्थलमा रहेका विद्युतिय संरचना, आगलागीको प्रकृति तथा स्थानीय प्रत्यक्षदर्शीहरूको भनाइ विश्लेषण गर्दा उक्त आगलागी विद्युतको तार सर्टका कारण नभई अन्य कुनै मानवीय कमजोरी, लापरबाही वा अज्ञात कारणबाट भएको निष्कर्ष निकालिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

नेपाल विद्युत प्राधिकरण मलंगवा केन्द्रले यस घटनाप्रति दुःख व्यक्त गर्दै पीडित किसानप्रति सहानुभूति प्रकट गरेको छ । आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको उखु बाली क्षति भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि करिब दुई हजार स्थानीयवासी, दमकल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब ५ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *