सर्लाही, ०४ पुष । सर्लाहीका उखु किसानले गत वर्षको पाउन बाँकी ३५ रुपैयाँ अनुदान रकम माग गर्दै फेरि एक पटक सरकारलाई घच्घच्याएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ दिने भनेर ३५ रुपैयाँ मात्रै दिएको भन्दै उखु किसान असन्तुष्ट छन् ।
वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले बाँकी ३५ रुपैयाँ अनुदानका लागि मंसिर महिनाभरको भाका दिएको तर पैसा नपाएपछि किसान फेरि आन्दोलनका लागि जुर्मुराएका हुन् ।
गत वर्षको ३५ रुपैयाँ अनुदान रकम माग गर्दै संयुक्त उखु किसान संघर्ष समिति सर्लाहीले आज प्रमुख जिल्ला अधिकारीमार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
समितिले पोहोर सालको ३५ रुपैयाँ तुरुन्त भुक्तानीसहित छिमेकी मुलुक भारतको मुल्यलाई बिचार गरी यो वर्षका लागि उखुको मुल्य कम्तीमा पनि प्रतिक्विन्टल ६३३ रुपैयाँ कायम गर्न माग गरेको छ । तर दुई साताअघि सरकारले उखुको मुल्य यो वर्षका लागि प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिसकेको छ ।
यसमा सरकारले थप ७० रुपैयाँ अनुदान दिने भनिएको छ । उखु किसानले भने उद्योगीले दिनुपर्ने रकम कम्तीमा पनि भारतकै जति अर्थात् प्रतिक्विन्टल ६३३ रुपैयाँ हुनुपर्ने माग गरिरहेका छन् ।
संयुक्त उखु किसान संघर्ष समितिले माग पुरा गर्न एक हप्ताको अल्टिमेटम दिएको छ ।
