सर्लाही, ०६ पुष । सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीले आजदेखि आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।
गाउँपालिकाको बजेट पारित नहुँदा गत साउनदेखि तलब, भत्ता नपाउँदा कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले पुस २ गतेबाट गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए ।
गाउँपालिका अध्यक्ष रामसिंहासन राय, उपाध्यक्ष सरिताकुमारी साहसहितको उपस्थितिमा हिजो बसेको बैठकमा सम्पूर्ण स्थायी, करार र ज्यालादारी कर्मचारीको तलब, भत्ता यही पुस २५ गतेभित्र उपलब्ध गराउने सहमती भएपछि कर्मचारीहरुको धर्ना बस्न छाडेर काममा हाजिर भएका हुन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पक्षबिच सहमतीको वातावरण बनेसँगै आर्थिक वर्ष २०८२/८३ को गाउँसभा अन्तर्गत बन्दसत्रको बैठकसमेत बोलाइएको छ ।
आज सूचना जारी गरेर चालू आर्थिक वर्षको बजेट पारित गर्ने हिसाबले पुस १६ गते बुधबार गाउँसभाको बैठक बोलाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार गाउँसभा संचालन गर्नुअघि आज नै राजस्व परामर्श समितिको बैठक बसेर आवश्यक निर्णय गरिँदै छ ।
गाउँसभाको उद्घाटन सत्र गएको असारमै भए पनि बन्दसत्र भने हुन सकेको थिएन । स्रोतका अनुसार बजेट बाँडफाँडको विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पक्षबिच सहमती जुट्न नसक्दा छ महिना भइसक्दासमेत चालू आर्थिक वर्षको बजेट पारित हुन नसकेको हो ।
छ महिनासम्म तलब, भत्ता नपाएका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले कामकाज नै ठप्प पारेर आन्दोलन सुरु गरेपछि जनप्रतिनिधिहरु वार्तामा बस्ने र गाउँसभा गरेर बजेट पारित गर्ने वातावरण बनाउन बाध्य भएका हुन् ।
गएको भदौमा गाउँपालिका अध्यक्ष रायले गाउँसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रयास गरेका थिए । तर उपाध्यक्ष साहले उच्च अदालत जनकपुरमा निवेदन दिएपछि अदालतले उपाध्यक्षको सहमती बिना गाउँसभा नगर्न आदेश गरेको थियो ।
अहिले भने उपध्याक्ष साहलाई समेत सहमतीमा ल्याएर पुस १६ गतेका लागि गाउँसभाको बैठक बोलाइएको बताइएको छ ।
जनप्रतिनिधिबिचको किचलोका कारण गाउँपालिकाको नियमित कामकाज र विकास निर्माणका काम प्रभावित हुँदा स्थानीयहरु भने चिन्तित रहेका छन् ।
