सर्लाही, ०७ पुष । सर्लाहीको हरिवन नगरपालिका–०३ डाबरी टोलस्थित आँपको बगैंचाभित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको छ ।

प्रहरीले उक्त स्थान वरिपरि खोजतलास गर्ने क्रममा झाडीभित्र सुकेको मकैको डाँठले छोपेर राखिएको अवस्थामा बेवारीसे लागुऔषध गाँजाका ३ वटा बोरा फेला पारी बरामद गरेको छ ।

बरामद गरिएका बोरा ईलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा ल्याई खोली जाँच गर्दा विभिन्न किसिमका प्याकेटमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्लाष्टिकसहित तौल गर्दा बरामद गाँजाको कुल तौल ८६.५०५ केजी रहेको छ । जसअन्तर्गत ठूला प्याकेट ९ वटा (४७.६६४ केजी), साना प्याकेट १४ वटा (३७.७०२ केजी) तथा एउटा सानो प्याकेट (१.१३९ केजी) रहेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र गाँजा कसले लुकाई राखेको हो भन्ने विषयमा खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *