सर्लाही, ०८ पुष । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ना गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ । यो सङ्ख्या २०७९ सालको निर्वाचनको तुलनामा चार हजारले बढी हो ।

२०७९ को निर्वाचनका क्रममा १ लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । यस पटक भने नाम रूपान्तरण गर्दै ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्ने तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार यस पटक निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौती बढ्दै गएको र मतदान केन्द्रको सङ्ख्या पनि थपिने भएकाले अघिल्लो निर्वाचनभन्दा बढी जनशक्ति आवश्यक पर्ने निष्कर्ष निकालिएको हो ।

सोही आधारमा निर्वाचन प्रहरीको सङ्ख्या बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयसमक्ष पेस गरिएको बताइएको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी, विश्वसनीय र व्यवस्थित बनाउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन आवश्यक रहेको प्रहरीको ठहर छ । प्रस्तावमाथि गृह मन्त्रालयले निर्णय गरेपछि भर्ना प्रक्रिया अघि बढाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *