सर्लाही, ०९ पुष । मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् । 

सर्लाहीका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले सोमबार बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु पेल्न सुरु गरिएको जानकारी दिनुभयो ।

इन्दुशङ्कर चिनी उद्योगमा दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु पेल्ने क्षमता भएको बेग्लाबेग्लै दुई वटा मिल छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु पेल्न सुरु गरिएको उहाँले बताउनुभयो । 

किसानले प्रशस्त उखु ल्याउन थालेपछि भने दुई वटै मिल सञ्चालन गरिने उहाँको भनाइ छ । इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष चैतसम्म मिल सञ्चालन गरेर ३५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको छ । 

यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले भने दुई दिनदेखि उखु पेलिरहेको जनाएको छ । उद्योगले शनिबार मध्याह्नदेखि उखु पेल्न सुरु गरेको उद्योगका प्रशासकीय प्रमुख शिवशङ्कर महतोले जानकारी दिनुभयो । 

दैनिक २० हजार क्विन्टल उखु पेल्ने क्षमता रहेको महालक्ष्मीले यस वर्ष २० लाख क्विन्टलभन्दा बढी उखु पेल्ने लक्ष्य लिएको प्रशासकीय प्रमुख महतोले बताउनुभयो । 

त्यस्तै जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले पुस १५ तिरबाट मिल सञ्चालन गर्ने गरी तयारीमा जुटेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *