संकेितक फाेटाे ।

सर्लाही, ०९ पुष । सर्लाहीसहित मधेश प्रदेशमा अत्यधिक चिसो बढ्दै गएपछि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाका सबै स्थानीय तहलाई विद्यालयमा तत्काल जाडो बिदा दिन आग्रह गरेको छ ।

इकाइले जिल्लाका २० वटै पालिकालाई पत्राचार गर्दै पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेकाले बालबालिकाको स्वास्थ्य जोखिममा परेको र नियमित पठनपाठनसमेत प्रभावित भएको उल्लेख गरेको छ ।

निमित्त इकाइ प्रमुख रामवृक्ष महतोको हस्ताक्षर रहेको पत्रमा विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा समग्र हितलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी केही दिन जाडो बिदा दिन सकिने व्यवस्था गर्न स्थानीय तहहरूलाई अनुरोध गरिएको छ । इकाइका अनुसार यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु बालबालिकाका लागि जोखिमपूर्ण हुन सक्ने भएकाले तत्काल निर्णय लिन आग्रह गरिएको हो ।

तर, विगत ५ दिनदेखि शीतलहर, बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भए पनि सर्लाहीका कुनै पनि स्थानीय तहले हालसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छैनन् । यसका कारण बालबालिका कठ्याङ्ग्रिने चिसोमा विद्यालय जान बाध्य भएका छन् ।

विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित परिवारका बालबालिकासँग न्यानो कपडा र जुत्ता नहुँदा समस्या झनै गम्भीर बनेको छ ।

शिक्षकहरूका अनुसार चिसोका कारण कतिपय विद्यालयमा विद्यार्थीको उपस्थितिमा कमी आउन थालेको छ । अत्यधिक जाडो बढ्दै गएपछि तराई–मधेशका अन्य जिल्लाहरूमा भने केही दिन अघिदेखि नै विद्यालयमा जाडो बिदा दिइसकिएको छ ।

यसैबीच, विगत पाँच दिनदेखि निरन्तर शीतलहर चलेर सर्लाहीसहित मधेश प्रदेशको जनजीवन अत्यन्त प्रभावित बनेको छ । अन्य दिनको तुलनामा आज सर्लाहीमा अझ बढी चिसो महसुस गरिएको छ ।

गएको शनिबारदेखि हुस्सु, कुहिरोसहितको शीतलहरका कारण बिहान–बेलुका सडकसमेत भिज्ने अवस्था देखिएको छ ।

दिउँसोसमेत हुस्सु र कुहिरो लागेर चिसो स्याँठ चल्दा सर्वसाधारण प्रभावित भएका छन् । चिसोबाट प्रभावित नागरिकलाई न्यानो कपडा तथा राहत प्रदान गर्न स्थानीय पालिका, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायले खासै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

हुस्सु र कुहिरोका कारण तोरी, आलु, लहरी, चनालगायतका बालीमा असर पर्न सक्ने भन्दै किसानहरू चिन्तित बनेका छन् । चौपाया तथा पन्छीसमेत चिसोबाट अत्यन्त प्रभावित भएका छन् । पाँच दिनदेखि घाम नलाग्दा सरसफाइ तथा दैनिक कामकाजसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *