सर्लाही, ११ पुष । फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छलफल क्रममा आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग पनि ‘म्याराथन मिटिङ’ गरिरहेका छन् ।

ती भेटवार्तामा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताउने गरेका छन् ।

जेनजी प्रतिनिधिहरूसँगको छलफल क्रममा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न उठ्दा बालेनले नेपालका लागि संघीयता चाहिने र अहिलेकै संविधान ‘बेस्ट’ छ भन्ने धारणा राखेको जेनजी प्रतिनिधि रक्षा बमले बताइन् ।

‘संघीयता चाहिन्छ । यो संविधान बेस्ट नै छ । कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो,’ बुधबार र बिहीबारको भेटवार्ता क्रममा बालेनको भनाइ उद्धृत गर्दै बमले भनिन्,’प्रत्यक्ष कार्यकारीको विषयमा पनि हाम्रो छलफल भएको थियो ।

संविधान, संघीयता र प्रत्यक्ष कार्यकारीबारे बालेनको जबाफ सुनेपछि आफू विश्वस्त भएको उनले बताइन् ।

बालेनले यसरी संघीयताको पक्षमा धारणा राखेको पहिलो पटक सुनिएको हो। विगतमा उनी संघीयताको सवालमा प्रस्ट थिएनन् । अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र भोट हालेका थिए, प्रदेशसभाको त मतपत्र नै लिएनन् ।

बालेन जेनजी लगायत सबै नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिने तयारीमा छन् । उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गरेका हुन् । शुक्रबारबाट पार्टीको कार्यालय पनि खोलेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएको उनी निकटहरू बताउँछन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिकको बन्दसूची बुझाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *