सर्लाही, १३ पुष । बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले चिसोबाट प्रभावित ४७० गरिब तथा विपन्न समुदायका परिवारलाई शनिबार कम्बल वितरण गरेका हुन ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा , Save the children को सहयोग र बलरा नगरपालिकाको समन्वयमा बलरा नगरपालिका वार्ड न ४,६ र ९ का ४७० गरिब विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको हो ।
केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहत महसुस गरेका छन् ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने नगर प्रमुख कुश्वाहाले बताए ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।
