सर्लाही, १३ पुष । मलंगवा-नवलपुर ३३ केभी लाइनमा भोली (साेमबार) देखि कडक्टर अपग्रेडिङ अर्थात पुरानो तार हटाइ नयाँ तार जडानको काम सुरु गरिने भएको छ ।
नेपाल विद्युत प्राकिरणको मलंगवा वितरण केन्द्रले यसअघि गर्मीयाममा दिनभर लाइन काटेर तार फेर्ने काम गर्दा चर्को विरोध भएपछि काम रोकिएको थियो ।
मलंगवा वितरण केन्द्रले आज सूचना जारी गर्दै अब भोली १४ गते सोमबारदेखि १८ गते शुक्रबारसम्म विद्युत कटौति हुने जनाएको छ । ५ दिनसम्म बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म लाइन अवरुद्ध तथा अनियमित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
५ दिनसम्म दिनभर नै बिजुली अवरुद्ध हुने हुँदा सदरमुकाम मलंगवासहित मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीबाट हुने व्यक्तिगत तथा सरकारी कार्यालयका काम प्रभावित हुने भएका छन् ।
सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने ट्रान्सफर्मर र पोलहरु सानुपर्दा लालबन्दी वितरण केन्द्र अन्तर्गत क्षेत्रको बिजुली पनि अनियमित भइरहेको छ ।
