सर्लाही, १३ पुष । एमाले सचिव महेश बस्नेतले ३ वर्षसम्म काठमाडाैं महानगरको मुहार फेर्न नसक्ने पात्रले देशको मुहार फेर्छ भन्ने भ्रम सकिन थालेको टिप्पणी गरेका छन् ।

रास्वपासँग काठमाडाैंका मेयर बालेन शाहले भावी प्रधानमन्त्रीका रूपमा सहमति गरेको विषयमा टिप्पणी गर्दै बस्नेतले अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको उल्लेख गरेका छन् । 

नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिँदै आएको प्रसंग झिक्दै बस्नेतले भनेका छन्, ‘गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए ।

लोकप्रियताको आडमा बालेन आए । तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको तर अब रविसँग मिलेलगत्तै उनीप्रतिको आकर्षण तीव्र गतिमा घट्ने दाबी गरेका छन् । ‘रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ’, बस्नेतले भनेका छन् ।

‘काम गर्ने कालु, मकै खाने भालुजस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्नेबाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै रहेको पनि बस्नेतको दाबी छ । 

उनले भदाै २३ र २४ गतेको विध्वंसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय भएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *