सर्लाही, १५ पुष । सर्लाहीको लालबन्दी निवासी नेपाली कांग्रेसकी नेतृ शर्मिला थापाले मजदुरी गरेरै एमबिबिएसमा नाम निकाल्न सफल सिरहाका सत्यनारायण साफीलाई आर्थिक सहयोग गरेकी छन् ।
थापाले आज साफीको घर सिरहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुर पुगेर नगद १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् ।
मजदुरी गर्दा गर्दै पढेर एमबिबिएसमा नाम निकाल्न सफल दलित समुदायका एक युवालाई प्रोत्साहनका लागि तथा थप अध्ययनका लागि टेवा पुगोस् भनी आर्थिक सहयोग गरेको कांगे्रेस नेतृ थापाले बताइन् ।
साफीको साहस, समर्पण र निरन्तरको संघर्ष अन्य सबैलाई प्रेरणाको स्रोत नै रहेकाले आफू आज उनको घरमै पुगेर आर्थिक सहयोग गरेको थापाले जानकारी दिईन् ।
साफीको संघर्ष र परिवारको अवस्थाबारे मिडियामा व्यापक समाचार प्रशारण तथा प्रकाशन भएपछि उनलाई अहिले छात्रावृत्तिमा नाम निकालेको दाङ जिल्लासम्म पुगेर अध्ययन गर्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका छन् ।
लालबन्दी निवासी थापाद्वारा सहयोग रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोद कुमार यादव, वडा अध्यक्ष राम खेलावन दास, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी, कांग्रेस नेता नारायण गुर्मछान, शिक्षक देवप्रसाद यादव, युवा नेता सुमन कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
