सर्लाही, १५ पुष । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएकाे छ ।
साे पार्टीले पठाएका नाममध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएकाे हो ।
यसअघि उज्यालो पार्टीलाई समानुपातिकमा १८ जना दिने सहमति भएको थियो । तर, यी नाम काटिएपछि उज्यालो नेपालबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको संख्या १४ मा सीमित भएको छ ।
साेमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालाे नेपाल पार्टीबिच एकताका लागि ७ बुँदे सहमति भएकाे थियाे । याे सँगै उज्यालाेले तयार पारेकाे समानुपातिक बन्दसूची बुझाएन ।
तर केन्द्रीय कमिटीबाट पारित नभई एकता सहमति गरेकाे र बन्दसूचीमा सहमति गरेकाे भन्दै अहिले बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेकाे केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन् ।
