सर्लाही, १५ पुष । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । मंगलबार कांग्रेसले ११० जना उम्मेदवारको सूची पेश गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टी नेताहरूले आज बिहान साढे ११ बजे आयोगमा उम्मेदवार सूची बुझाएका थिए । कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिँदै २०६४ देखि २०७९ सम्म समानुपातिक अवसर पाएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ ।
पदाधिकारीमध्ये १४ जना मध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र सूचीमा छन् ।
पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि नुवाकोटबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका छन् । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार, ३५ वर्षमुनिका १५ जना युवा उम्मेदवार तथा नेविसंघ र तरुण दलमा काम गरेका नयाँ अनुहारहरूलाई प्राथमिकता दिइएको छ ।
