संतोष कर्ण

सर्लाही, १५ पुष । सर्लाहीमा अत्यधिक चिसो बढेसँगै बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादवले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेका छन् ।

जेसिस बोर्डिङ्ग स्कूल, मलंगवाको सहयोगमा मलंगवा नगरपालिका वडा नं. ९ मा अवस्थित विश्वकै सबैभन्दा कम क्षेत्रफलमा रहेको, प्रविधिमैत्री तथा अंग्रेजी माध्यममा सञ्चालन हुँदै आएको मलंगवा नगरपालिकाको एकमात्र प्राथमिक सामुदायिक विद्यालय श्री प्राथमिक विद्यालय, मलंगवा–९ मा अध्ययनरत १२ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष कर्णले शैक्षिक सत्र २०८१ मा जिम्मेवारी सम्हालेपछि विद्यालयको शैक्षिक अवस्थामा उल्लेखनीय सुधार आएको छ ।

यसअघि ४ जना बालविकास र २५ जना मात्र विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा डेढ वर्षको अवधिमा बालविकास कक्षामा ६८ जना, एल.के.जी.मा ३२ जना सहित हाल कुल १८० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयको यस उन्नति र प्रगति देखेर बाल कल्याण समाजका अध्यक्ष यादवको पहलमा जेसिस बोर्डिङ्ग स्कूल, मलंगवाका प्रिन्सिपल तथा संस्थापकद्वारा विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा अनाथ बालबालिकालाई १२ थान ज्याकेट प्रदान गरिएको हो ।

कार्यक्रमका क्रममा जेसिस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल भोला भट्टले प्रधानाध्यापकको लगनशीलता, मिहिनेत तथा शिक्षकहरूको सहयोगले सामुदायिक विद्यालयको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिने बताए ।

उनले श्री प्राथमिक विद्यालय, मलंगवा–९ लाई त्यसको उत्कृष्ट उदाहरणका रूपमा लिन सकिने उल्लेख गरे। साथै, सामुदायिक विद्यालयले सिफारिस गरेका उत्कृष्ट, लगनशील, गरिब तथा जेहेन्दार विद्यार्थीलाई जेसिस बोर्डिङ्ग स्कूलमा निःशुल्क अध्ययन गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *