सर्लाही, १५ पुष । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा दल समानुपातिक सूचीमा सहभागी भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिह्नमा र १० वटा दल ४ वटा चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसरी समानुपातिकतर्फको मतपत्रमा जम्मा निर्वाचन चिह्न ५८ वटा रहने छन् ।
निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । त्यसअनुसार ६४ वटा दलले समानुपातिकमा उम्मेदवारी दिएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् । ८ वटा दलले फरकफरक तीन वटा चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएका छन् ।
बाँकी ३८ वटा राजनीतिक दलले भने कम सिटमा उम्मेदवारी दिएका छन् ।
दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पेस गर्न सक्थे । अधिकतमभन्दा कम पदमा उम्मेदवारी दिने दलको संख्या अधिक छ ।
समानुपातिक सूचीमा ७ वटा क्लस्टर छन् । आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ ।
आदिवासी जनजातिमा २८.७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२८ प्रतिशत, थारुमा ६.५२, दलितमा १३.४४ प्रतिशत उम्मेदवार छान्नुपर्छ । मधेशीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४.०२ प्रतिशत उम्मेदवार छान्नुपर्ने हुन्छ ।
यसअनुसार दलहरूले कम्तीमा ११ र बढीमा ११० उम्मेदवार तय गर्नुपर्ने थियो । यसअनुसार अधिकतम सिटमा आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी उम्मेदवारी दिनेको संख्या १८ छ ।
जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेलिनवादी)ले पनि पूरै ११० सिटमै उम्मेदवारी दिएका छन् ।
पूरै सिटमा उम्मेदवारी दिने दलहरूमा संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेपाल कम्युनस्ट पार्टी (संयुक्त) पनि छन् । एकल चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि छन् ।
बाँकी ८ वटा दलले भने तीन फरक चुनाव चिह्नमा संयुक्त उम्मेदवारी दिएका हुन् ।
मोबाइल एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त नामावली बुझाएका छन् ।
एकल चिह्न बसमा तीन वटा पार्टीले संयुक्त चुनाव लड्दै छन् ।
ती हुन्- नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी । जाँतो (चकिया) एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनाव लड्दै छन् ।
