सर्लाही, १६ पुष । अमेरिकाले नेपाललाई दिएको विशेष व्यापार ग्राह्यता सुविधाको म्याद आज बुधबारदेखि सकिँदै छ । नेपालका ७७ वस्तुलाई भन्सार छुट दिने नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी) कार्यक्रमले निरन्तरता नपाउने भएको हो । नेपालले म्याद थपका लागि आग्रह गरेको भए पनि अमेरिकाले सुविधा कार्यक्रम नवीकरण गरेन । 

फागुन ०७२ मा अमेरिकाले भूकम्पबाट प्रभावित नेपालको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन भन्दै व्यापार ग्राह्यता सुुविधा दिएको थियो । अमेरिकी सरकारले कानुन ल्याएर नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी)मार्फत नेपालका ६६ वस्तुलाई भन्साररहित सुविधा दियो । त्यसको एक वर्षपछि भन्साररहित सुविधा पाउने सूचीमा ११ वस्तु थपिए । तर, नेपालले १० वर्षका लागि प्राप्त सुविधाको अपेक्षित लाभ लिन सकेन । एनटिपिपी कार्यक्रमको म्याद ३१ डिसेम्बर २०२५ सम्म रहेको छ । 

नेपालले एनटिपिपी कार्यक्रमको निरन्तरताका लागि विभिन्न माध्यमबाट पहल गरेको भए पनि तत्काल सकारात्मक परिणाम आउन नसकेको वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले बताए । ‘हालसम्म अमेरिकाबाट एनटिपिपीको म्याद थपिएको वा नवीकरण भएको औपचारिक जानकारी आएको छैन, यसको अर्थ कार्यक्रमले निरन्तरता पाएन भनेर बुझ्नुपर्ला,’ उनले भने । यद्यपि, कार्यक्रमको निरन्तरताका लागि अमेरिकी सरकार सकारात्मक रहेको र उक्त विषय त्यहाँको संसद्सम्मै पुगिसकेकाले पनि अझै आशावादी हुने ठाउँ रहेको उनको भनाइ छ । 

अमेरिकाले नेपाललाई जस्तै अफ्रिकालाई दिएको सुविधाको म्याद पनि गत सेप्टेम्बरमा सकिएको थियो । अफ्रिकाका ३२ मुलुकका एक हजार आठ सय वस्तुका लागि दिइएको भन्सार छुट सुविधाले पनि निरन्तरता पाउन सकेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले फरक व्यापार नीति लिएका कारण यस्ता कार्यक्रमले निरन्तरता नपाएको, कार्यक्रम परिष्कृत हुने गरेको तथा नयाँ कार्यक्रमले प्रतिस्थापन गर्ने गरेको देखिएको छ । 

ट्रम राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले नेपालमा मिलिनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी)अन्तर्गतका परियोजना स्थगित गरेको थियो । ९० दिनका लागि स्थगित गरिएको एमसिसीलाई पछि निरन्तरता दिइयो । एमसिसीजस्तै एनटिपिपी कार्यक्रमलाई पनि अमेरिकाले निरन्तरता दिनेमा वाणिज्य मन्त्रालयका अधिकारीहरू आशावादी देखिन्छन् । नेपालले एनटिपिपी कार्यक्रमको म्याद थप्न र वस्तुको सूची हेरफेर गर्न दुई–तीन वर्षदेखि नै निरन्तर प्रयास गर्दै आएको सचिव डा. घिमिरेको दाबी छ । ‘नेपाल–अमेरिकाबिचको दुईपक्षीय टिफा बैठक र अन्य औपचारिक कार्यक्रममा पनि हामीले म्याद र वस्तुको सूची थप्न आग्रह गर्दै आएका थियौँ, अमेरिकीस्थित नेपाली राजदूतावासले पनि त्यहाँको सिनेटसम्मै हाम्रो आवाज पुर्‍याएको हो,’ उनले भने, ‘अमेरिकी सरकार सकारात्मक रहेकै कारण ढिलोचाँडो यो कार्यक्रमले निरन्तरता पाउला कि भन्ने आशा छ ।’ 

म्याद थप गर्न नेपालले दिएका मुख्य चार कारण
अमेरिकी सरकारले एनटिपिपी कार्यक्रमबाट नेपालले लाभ लिन सक्ने आधार र म्याद थप्नुपर्ने कारणसहितको अवधारणापत्र (कन्सेप्ट पेपर)समेत माग गरेको थियो । नेपालले म्याद थप्नुपर्ने मुख्य चार–पाँच कारण देखाउँदै अवधारणापत्र बुझाएको थियो । ‘यसबिचमा भएको कोभिड महामारीका कारण व्यापार सुविधाको लाभ लिन नसकेको, विश्व आपूर्ति शृंखलामा असर परेका कारण निर्यात बढाउन नसकेको, नेपाल भूपरिवेष्ठित तथा अति कम विकसित मुलुक भएको र अमेरिका विकसित मुलुक भएकाले नेपाललाई व्यापार ग्राह्यता सुविधा निरन्तर दिनुपर्ने अवधारणपत्रमा उल्लेख थियो,’ उनले भने, ‘नेपालले वस्तुको सूची हेरफेर गरेर नेपालको क्षमता र सम्भावना भएका सूची राख्नुपर्ने कुरा पनि उठाएको थियो ।’ नेपालको आग्रहका बाबजुद एनटिपिपी कार्यक्रमले निरन्तरता पाएन । दोस्रो ठुलो निर्यात गन्तव्य मुलुक अमेरिकाले दिएको भन्सार सुविधाको म्याद सकिएपछि नेपालको निर्यात अझ खस्कन सक्ने देखिएको छ ।

नौ समूहका ७७ वस्तुलाई सुविधा, तर लाभ लिन असफल
अमेरिकाले विभिन्न नौ समूहका ७७ वस्तुलाई भन्सार सुविधा दिएको थियो । जसमा छाला, कटन, वनस्पतिलगायतबाट बनेका लगेज, सुटकेस, हेडब्यान्ड, निडलक्राफ्ट, ह्याट्स, पन्जा, सल, गलबन्दी वा यात्रामा प्रयोग हुने ब्लांकेट, कार्पेट, ट्राभल ब्याग, पकेट गुड्स र ह्यान्ड ब्यागलगायत पर्छन् । यस्ता वस्तु आफैँमा कम अर्थात् चारदेखि १० प्रतिशत भन्सार मूल्य पर्ने समूहमा रहेका कारण अपेक्षाअनुसार बढी लाभ लिन नसकिएको व्यवसायीले बताउँदै आएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै गरेको एक अध्ययनअनुसार अमेरिकामा हुने कुल निर्यातमा भन्सार सुविधा पाएका ७७ वस्तुको हिस्सा जम्मा ३.८ प्रतिशत मात्रै रहेको पाइएको थियो ।

अमेरिकाले तयार पारेको एनटिपिपी कार्यक्रमको सन् २०२४ को रिपोर्टमा नेपालले सात वर्षमा कुल ३९ लाख अमेरिकी डलरबराबरको निर्यात गरेको र त्यसमा ग्राह्यता पाएका वस्तुको हिस्सा २.९ प्रतिशत मात्रै भएको उल्लेख छ । 

अमेरिकासँगको व्यापार घाटामा
अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य मुलुक हो । तर, पछिल्ला समय अमेरिकासँगको व्यापार घाटा निरन्तर बढ्दै गइरहेको छ ।

चालू आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा नेपालले अमेरिकासँगको व्यापारमा दुई अर्ब ९२ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै दोब्बरले बढी हो । 

गत वर्षको पाँच महिनामा नेपालले अमेरिकासँग एक अर्ब चार करोड ३९ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको थियो । चालू आवको पाँच महिनामा अमेरिकाबाट १० अर्ब ३५ करोड सात लाखको वस्तु आयात गरेको नेपालले निर्यात भने सात अर्ब ४२ करोड ६० लाखबराबरको मात्रै गर्न सक्यो । 

गत आवको सोही अवधिमा नेपालले अमेरिकासँगको व्यापारमा एक अर्ब ग्राह्यता सुविधा पाएको पहिलो दुई आर्थिक वर्ष नाफामा रहेको नेपालको व्यापार त्यसयता निरन्तर घाटामा रहेको छ । गत आव ०८१/८२ मा नेपालले अमेरिकासँगको व्यापारमा सात अर्ब ६४ करोड घाटा व्यहोरेको छ ।

त्यो घाटा आव ०८०/८१ को तुलनामा तीन गुणा अर्थात् पाँच अर्ब ४७ करोडले बढी हो । व्यापार सुविधा प्राप्त भएपछिको एक दशकमा नेपालले एक खर्ब ३४ अर्ब ५८ करोड रुपैयाँबराबरको निर्यात गरेको छ ।

जबकि, यस अवधिमा नेपालले एक खर्ब ९८ अर्ब ३१ करोडको आयात गरेको छ । निर्यात वृद्धिदर बढाउन नसक्दा यस एक दशकमा नेपालले ६३ अर्ब ७३ करोड रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *