सर्लाही, १६ पुष । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिएको शैक्षिक सत्र २०८२ को एमबीबीएस प्रवेश परीक्षामा पूर्ण निःशुल्क छात्रवृत्तिमा उत्तीर्ण भएका मधेशी दलित समुदायका विद्यार्थीहरूलाई मधेश प्रदेश सरकारले सम्मान गर्ने भएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयले एक सूचना जारी गर्दै सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मधेशी दलित समुदायका विद्यार्थीहरूले आवश्यक कागजातसहित मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने सूचनामा भनिएको छ ।

मन्त्रालयले पुष १८ गते शुक्रबार कार्यालय समयभित्र शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाममा निवेदन बुझाउन अनुरोध गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले निवेदनसँगै आफ्नो सम्पर्क नम्बर खुलाइएको निवेदन पत्र, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, मधेशी दलित समुदायको प्रमाणपत्रको प्रतिलिपि, बैंकको नाम तथा खाता नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस तथा छात्रवृत्तिमा नाम प्रकाशित भएको आधिकारिक कागजात संलग्न गर्नुपर्ने सूचनामा भनिएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयका अनुसार यो कार्यक्रम मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

कठिन प्रतिस्पर्धाका बीच चिकित्सा शिक्षा जस्तो महँगो र चुनौतीपूर्ण क्षेत्रमा पूर्ण छात्रवृत्तिमा सफलता हासिल गर्नु आफैंमा गर्वको विषय भएकाले प्रदेश सरकारले उनीहरूको उपलब्धिलाई औपचारिक रूपमा सम्मान गर्न लागेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अधिकारीहरूले यस किसिमको कार्यक्रमले मधेशी दलित समुदायका अन्य विद्यार्थीहरूलाई पनि चिकित्सा शिक्षा लगायत उच्च शिक्षामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सम्मान कार्यक्रमको मिति र स्वरूप भने निवेदन संकलनपछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *