सर्लाही, १६ पुष । जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्शेनस्थित एक बैंकबाट करिब ३ करोड युरो (नेपाली ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ) बराबरको धनमाल चोरी भएको छ । मङ्गलवार त्यहाँस्थित प्रहरीले अत्यन्तै व्यवस्थित र पेसागत ढङ्गले चोरी भएको जनाएको छ ।
यस किसिमको चोरीमा लामो समयको योजना, बैंकको आन्तरिक संरचनाबारे जानकारी र उच्च स्तरको आपराधिक साहस आवश्यक परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार चोर समूहले बैंकसँगै रहेको पार्किङ ग्यारेजमार्फत प्रवेश गरेका थिए । उनीहरूले पार्किङबाटै भल्ट कक्षसम्म सुरुङ खनेर चोरीपछि सोही बाटो हुँदै फरार भएका थिए ।
सुरुङभित्र रहेका ३ हजारभन्दा बढी सेफ–डिपोजिट बक्स तोडिएको प्रहरीले जनाएको छ । ती बक्समा नगद, गरगहना र सुन राखिएको थियो ।
एक बक्सको औसत बिमा मूल्य करिब १० हजार युरो मान्दा प्रारम्भिक अनुमानअनुसार कुल क्षति करिब ३ करोड युरो पुगेको छ ।
यो चोरीको घटना सोमबार मात्रै बाहिर आएको हो । आगलागी अलार्म बजेपछि आपत्कालीन सेवाले खबर पाएसँगै घटना सार्वजनिक भएको थियो ।
प्रत्यक्षदर्शीहरूले आइतबार राति पार्किङ ग्यारेजको सिँढीबाट ठुला झोला बोकेका केही व्यक्ति देखेको बताएका छन् ।
प्रहरीले प्रारम्भिक सिसिटिभी फुटेजसमेत जाँच गरिसकेको छ । फुटेजमा सोमबार बिहान सबेरै कालो रङ्गको अडी आरएस ६6 ग्यारेजबाट बाहिर निस्कँदै गरेको देखिन्छ, जसमा सवार व्यक्तिले मुख छोपेका थिए ।
सो गाडीको नम्बर प्लेट यसअघि जर्मनीकै उत्तरी सहर हानोभरबाट चोरी गरिएको प्रहरीले जनाएको छ ।
सोमबार र मङ्गलवार बैंक शाखाबाहिर धेरै ग्राहकहरू जानकारी लिन भेला भएका थिए । नजिकैको सहर कोलोनबाट प्रकाशित हुने कोल्नर श्टाट–आनसाइगर पत्रिकाका अनुसार पीडितमध्ये धेरैजसो तुर्की मूलका ग्राहक थिए, जसले आफ्नो सेफ–डिपोजिट बक्समा सुन वा सुनका गरगहना राखेका थिए। केही पीडितले आफ्नो क्षति बिमा गरिएको रकमभन्दा धेरै गुणा बढी भएको बताएका छन् ।
प्रहरीले पीडित ग्राहकहरूलाई अलग–अलग उजुरी दर्ता नगर्न आग्रह गर्दै बैंकसँगै सम्पर्क गर्न भनेको छ। स्पार्कासे बैंक ले पीडितहरूको व्यक्तिगत विवरण र क्षतिको विवरण सङ्कलन गरी दैनिक रूपमा अनुसन्धानकर्तालाई पठाइरहेको प्रहरीले जनाएको छ ।
