सर्लाही, १८ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठ वटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउन कडा निर्देशन दिएका छन् ।

जनकपुरमा आयोजित बैठकमा मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि समेत प्रदेश बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्थापन र प्रशासनिक समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिए ।

बैठकमा जनताबाट आएका गुनासा, उपचारका क्रममा देखिएका समस्याहरू तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्दै परिणाममुखी र जनमैत्री सेवा दिन आग्रह गरे ।

प्रदेश सरकारले स्वास्थ्य सेवाको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *