सर्लाही, २१ पुष । मधेश प्रदेशमा विवाह नहुने समस्या गम्भीर बन्दै गएको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांक तुलना गर्दा पछिल्लो १० वर्षमा अविवाहित जनसंख्या करिब १५ प्रतिशतले बढेको देखिन्छ, जसले सामाजिक संरचनामा दीर्घकालीन असर पार्ने चिन्ता बढाएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार १० वर्षभन्दा माथिको जनसंख्यामध्ये ३५.६ प्रतिशत अविवाहित थिए । पुरुषमा यो दर ४०.६ प्रतिशत र महिलामा ३१.१ प्रतिशत थियो । तर २०७८ को जनगणनाले मधेश प्रदेशको अवस्था अझै चिन्ताजनक देखाएको छ । ६१ लाख १४ हजार जनसंख्या रहेको मधेशमा २९ लाख ३९ हजार जनसंख्या अविवाहित छन् ।
तीमध्ये १६ लाख २८ हजार पुरुष (५६ प्रतिशत) र १३ लाख ११ हजार महिला (४४ प्रतिशत) अविवाहित रहेको तथ्यांक छ । यसले पुरुष–महिलाबीचको अन्तर बढ्दै गएको देखाउँछ ।
समाजशास्त्रीहरूका अनुसार २० वर्षपछि १०० महिला विवाह गर्दा १५–१८ पुरुष जोडी नपाएर अविवाहित रहने अवस्था देखिएको छ । अविवाहितको संख्या मात्र होइन, लैंगिक असन्तुलन पनि गहिरिँदै गएको उनीहरूको बुझाइ छ ।
– किन बढ्दै छ अविवाहितको संख्या ?
दाइजो प्रथा, बेरोजगारी, न्यून आय, बदलिँदो सामाजिक अपेक्षा, वैदेशिक रोजगार र जन्मदाको लैंगिक असन्तुलन प्रमुख कारण हुन् । समाजशास्त्री प्रा.डा. सुशील यादवका अनुसार मधेशमा “वंश अघि बढाउन छोरा चाहिन्छ” भन्ने सोच अझै बलियो छ । गर्भमा छोरी भए भ्रूण हत्या गर्ने प्रवृत्ति पूर्ण रूपमा अन्त्य हुन नसक्नुले लैंगिक असन्तुलन बढाएको उनी बताउँछन् । उनी भन्छन्, “उर्वर उमेरमा विदेशमा बस्दा विवाह ढिलो हुन्छ ।
उमेर बढेपछि उमेरअनुसारको जोडी नपाउँदा अविवाहित दर बढेको देखिन्छ ।” यादवले भ्रूण हत्या रोक्न राज्यले कठोर कदम चाल्नुपर्ने र वैदेशिक रोजगार नीतिमा पुनरावलोकन आवश्यक रहेको सुझाएका छन् । पत्रकार श्यामसुन्दर शशीका अनुसार ब्राह्मण, कायस्थ, राजपुत र भूमिहार समुदायमा यो समस्या बढी देखिएको छ ।
“छोरा चाहिने संकीर्ण सोच र छोरीप्रतिको विभेदले बालिकाको मृत्युदर बढाएको छ, जसको असर विवाहयोग्य उमेरमा स्पष्ट देखिन्छ,” उनले भने ।
– तथ्यांकले के देखाउछ ?
राष्ट्रिय जनगणना २०७८ अनुसार जन्मदाको स्वाभाविक लैंगिक अनुपात प्रति १०० महिलामा १०५ पुरुष स्वाभाविक मानिन्छ । तर मधेश प्रदेशमा यो अनुपात १२२ पुगेको छ, अर्थात् १०० छोरी जन्मिँदा १२२ छोराको जन्म हुने अवस्था छ ।
यसैगरी मधेशमा २५ वर्षमुनिका एक लाख २७ हजारभन्दा बढी पुरुष वैदेशिक रोजगारमा छन्, जसमा अधिकांश अविवाहित छन् । लामो समय विदेश बस्दा विवाह ढिलो हुने र सामाजिक सम्बन्ध कमजोर हुँदै जाँदा समस्या जटिल बन्दै गएको जानकारहरूले बताएका छन् ।
– भविष्यमा असर :
विशेषज्ञहरूका अनुसार अविवाहित पुरुषको संख्या यसरी बढ्दै गए सामाजिक असन्तुलन, मानसिक स्वास्थ्य समस्या र सामाजिक विचलनको जोखिम बढ्न सक्छ । यद्यपि विदेशमा रहेका युवाहरू स्वदेश फर्किएर विवाह गरेमा केही हदसम्म समस्या कम हुन सक्ने सम्भावना छ ।
