सर्लाही, २१ पुष । सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा पोखरीमा आईतबार दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएकोमा दुर्घटनामा परेको एउटा मोटरसाइकलबाट गाँजा बरामद भएको छ ।
बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेका हुन् । उक्त दुर्घटनामा बीआर ३० एफ १४६९ नम्वरको मोटरसाइकल चालक मलंगवा नगरपालिका ७ बस्ने ३८ वर्षीय हरदास यादव र मोटरसाइकल पछाडि सवार हरदासकै बुवा ७० वर्षीय अमिन्द्र राय यादव घाइते भई प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
अर्को बीआर ०६ सिएन ७४४२ नम्वरको मोटरसाइकल चालक भने दुर्घटनापछि फरार भए । प्रहरीले सो मोटरसाइकलबाट सिटमुनी लुकाइ राखिएको ४ किलो ७१० ग्राम गाँजा बरामद भएको छ ।
दुर्घटनापछि फरार भएका यो मोटरसाइकलका चालक कौडेना गाउँपालिका १ बस्ने रवीन्द्र गिरीलाई मलंगवा नगरपालिका १० स्थित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिसकिएको प्रहरीले बताएको छ ।
