सर्लाही, २८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन् ।

माघ २ वा ४ गते काठमाडौँ महानगर पालिकाको मेयरबाट राजीनामा दिएपछि बालेन पहिलो चुनाव प्रचारको लागि झापा पुग्ने उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘मेयरसापले आन्तरिक तयारी गरिरहनु भएको छ, महानगरबाट राजीनामा माघ २ वा ४ गते दिएर उहाँ चुनावी प्रचारमा निस्कनु हुन्छ,’ ती सदस्यले भने, ‘झापा-५ बाट चुनाव उठ्ने भन्ने छ, प्रचार अभियान पनि त्यहीँबाट सुरु गरेर सकभर १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने भन्ने छ ।’

झापा – ५ पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । उनी त्यहाँबाट निरन्तर चुनाव जित्दै आएका छन् ।

यसअघि पनि बालेनले ओलीविरुद्ध चुनाव लड्ने इच्छा प्रकट गरेका थिए । आफ्नो आन्तरिक टोलीसँगको छलफलका क्रममा उनले पूर्व प्रधानमन्त्री ओलीलाई निर्वाचनमा नहराईकन जित्ने मज्जा नै नआउने भन्दै झापा-५ बाट प्रतिस्पर्धा गर्ने इच्छा प्रकट गर्ने गरेको बालेन निकट स्रोतले जनाएको छ । 

रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय गरिसकेको छ । झापा-५ बाट उठ्न उनलाई रास्वपाका नेताहरूले दबाब दिएका छन् ।

‘उहाँलाई झापा-५ बाट उठ्न धेरैले सुझाव दिएका छन् । हामीले झापा-५ को पुरै वस्तुस्थिति अवलोकन र सर्वे गरिसकेका छौँ,’ अर्का एक सदस्यले भने, ‘उहाँको खोजी व्यापक भएको पाइयो । त्यसपछि मेयर साबको झापा-५ बाट उठ्ने चाहाना बढेको छ ।’

आइतबार रास्वपा झापाका अध्यक्षसहितको भेटमा पनि बालेनलाई झापा-५ बाटै चुनाव लड्न आग्रह गरिएको छ । त्यसपछि उनले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनले लेखेका छन्, “शुभकामना सबैलाई !! हामी आउँदै छौँ !!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *