सर्लाही, २९ पुष । मधेश प्रदेशमा कुल जनसंख्याको ५९.४७ प्रतिशत मतदाता रहेको तथ्यांक सार्वजनिक भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका आठ जिल्लाबाट ३६ लाख ३६ हजार ४१४ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेशले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका मतदातामध्ये १९ लाख ७२ हजार ९६४ जना पुरुष, १६ लाख ६३ हजार ३७४ जना महिला तथा ७६ जना लैंगिक तथा अल्पसंख्यक (अन्य) समूहका मतदाता रहेका छन् ।
मतदाता नामावली अद्यावधिक पछि कायम गरिएको यो संख्या मधेश प्रदेशको कुल जनसंख्याको ५९.४७ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय छ ।
यसमध्ये ३० लाख ६५ हजार ७५१ पुरुष र ३० लाख ४८ हजार ८४९ महिला छन् । जनसंख्या अनुपात करिब बराबर भए पनि मतदाता संख्यामा भने पुरुषको संख्या केही बढी देखिएको छ ।
संघीय संरचनाअनुसार मधेश प्रदेशका आठै जिल्लामा समान रूपमा चार–चार वटा निर्वाचन क्षेत्र तोकिएका छन् । यसअनुसार प्रदेशभर ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
यी सबै क्षेत्रमा फागुन २१ गते एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । जल्लागत रूपमा धनुषामा सबैभन्दा बढी मतदाता रहेका छन् ।
धनुषामा ५ लाख १४ हजार ५७१ जना मतदाता छन्, जसमा २ लाख ७६ हजार १२६ पुरुष, २ लाख ३८ हजार ४३५ महिला र १० जना अन्य समूहका मतदाता रहेका छन् ।
यो संख्या जिल्लाको कुल जनसंख्याको ५९.३० प्रतिशत हो । जनगणना अनुसार धनुषाको जनसंख्या ८ लाख ६७ हजार ७४७ छ ।
सर्लाहीमा ५ लाख ११ हजार ६०६ जना मतदाता रहेका छन्, जसमा २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य समूहका मतदाता छन् । यहाँ मतदाता प्रतिशत ५९.३२ रहेको छ ।
बारामा ४ लाख ६५ हजार ७८४ जना मतदाता छन् । बाराको कुल जनसंख्या ७ लाख ६३ हजार १३७ रहेकोमा मतदाता प्रतिशत ६१.०४ पुगेको छ । सिरहामा ४ लाख ५३ हजार ६४५ जना मतदाता रहेका छन् ।
जनगणना अनुसार सिरहाको कुल जनसंख्या ७ लाख ३९ हजार ९५३ छ । यसअनुसार सिरहामा ६१.३१ प्रतिशत मतदाता रहेका छन्, जुन प्रदेश औसतभन्दा बढी हो ।
सप्तरीमा ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन्, जुन जिल्लाको कुल जनसंख्याको ६३.२१ प्रतिशत हो । यो मधेशप्रदेशकै सबैभन्दा उच्च मतदाता प्रतिशत मानिएको छ ।
सप्तरीको कुल जनसंख्या ७ लाख ६ हजार २५५ रहेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार रौतहटमा ४ लाख ३६ हजार ६११ जना मतदाता छन् ।
रौतहटको कुल जनसंख्या ८ लाख १३ हजार ५७३ रहेकोमा मतदाता प्रतिशत ५३.६७ मात्र छ, जुन प्रदेशकै न्यूनतममध्ये एक हो । यसले त्यहाँ अझै ठूलो संख्यामा नागरिक मतदाता सूचीमा नसमेटिएको देखाउँछ ।
महोत्तरीमा ४ लाख ३१ हजार २८२ जना मतदाता रहेका छन्, जुन जिल्लाको कुल जनसंख्याको करिब ६१ प्रतिशत हो । महोत्तरीको कुल जनसंख्या ७ लाख ६ हजार ९९४ छ ।
मधेश प्रदेशमै सबैभन्दा कम मतदाता पर्सामा रहेका छन् । पर्सामा ३ लाख ७६ हजार ५१३ जना मतदाता छन्, जुन जिल्लाको कुल जनसंख्याको ५७.५३ प्रतिशत हो ।
पर्साको कुल जनसंख्या ६ लाख ५४ हजार ४७१ रहेको छ । प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न मधेश प्रदेशभर २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्लागत रूपमा सप्तरीमा २९६ मतदानस्थल र ५६२ केन्द्र, सिरहामा २२३ मतदानस्थल र ५३१ केन्द्र, धनुषामा ३२२ मतदानस्थल र ६४५ केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ५३६ केन्द्र तोकिएका छन् ।
त्यसैगरी सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ केन्द्र, रौतहटमा २७७ मतदानस्थल र ५४१ केन्द्र, बारामा ३०५ मतदानस्थल र ५८७ केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४४१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदानस्थल र केन्द्रमा आवश्यक भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्थापन तथा मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
