सर्लाही, ३० पुष । भारतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ५३८ वटा सवारी साधन उपलब्ध गराउने भएको छ ।
निर्वाचन आयोगका अनुसार ती सवारी साधनमध्ये ३०० वटा नेपाल प्रहरीलाई प्रदान गरिनेछ भने बाँकी २३८ वटा विभिन्न सरकारी निकायलाई वितरण गरिने तयारी गरिएको छ ।
निर्वाचन आयोगका स्रोतका अनुसार भारतीय पक्षले यसै सातादेखि सवारी साधन पठाउन सुरु गर्ने जानकारी दिएको छ । आयोग स्रोतले जनाएको छ, “माघको दोस्रो साता अर्थात् जनवरी अन्त्यसम्म सबै गाडी नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ । निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि सवारी साधनको उपलब्धता महत्वपूर्ण छ ।”
भारतले प्रदान गर्ने सवारी साधनमध्ये करिब १०० वटा विशेष प्रकारका हुने बताइएको छ । यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला भारतले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग गरेको थियो ।
निर्वाचन सहयोगका सन्दर्भमा युरोपेली मुलुकहरूले संयुक्त राष्ट्रसंघीय निकायमार्फत सहयोग गर्ने जानकारी दिएका छन्। यस्तै, जापान सरकारले सिधै आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालय निकट स्रोतका अनुसार जापानले ‘निर्वाचन’ शीर्षकमा नभई अन्य सहयोगको शीर्षक परिवर्तन गरेर निर्वाचन प्रक्रियामा सहयोग गर्न लागेको हो ।
यसैबीच, निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई समेत सहयोगको अनुरोध गर्दै पत्राचार गरेको भए पनि हालसम्म चीनको तर्फबाट कुनै औपचारिक जवाफ प्राप्त नभएको स्रोतले जनाएको छ ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । त्यस्तै, नेपाल प्रहरीका लागि ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकअन्तर्गत २ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
