सर्लाही, ०२ माघ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न उपयुक्त भवनको खोजी भइरहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

पौडेलका अनुसार क्षेत्र नं. १ को लालबन्दी, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ ।

क्षेत्र नं. २ को सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) को भवनमा र क्षेत्र नं. ४ को गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने पक्का जस्तै छ ।

क्षेत्र नं. १ र ३ मा भने भवन चयन गर्न बाँकी रहेको निर्वाचन अधिकारी पौडेलको भनाइ छ । क्षेत्र नं. १ को यसअघि लालबन्दी नगरपालिकाको पुरानो भवनमा निर्वाचन अधिकृतको कार्यालय रहेको थियो ।

उक्त भवनमा अहिले वडा नं. ६ र ७ को वडा कार्यालय, भूमि आयोग र न्यायीक समितिको काम हुने गरेको छ । यो भवनमा नगरपालिकाकै विभिन्न कार्यालय सञ्चालनमा रहेकाले यो पटक वडा नं. ७ स्थित साझा संस्थाको जग्गामा बनेको व्यावसायिक भवनमा वा वडा नं. १० स्थित चन्द्रपुर वडा कार्यालय परिसरमा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने हिसाबले छलफल अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनायो ।

साझा संस्था परिसरको भवनमा बत्ती जोड्न बाँकी नै रहेकाले पुरानो नगरपालिका कार्यालयमै पनि कार्यालय स्थापना गर्ने कि भनेर छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनायो ।

यस्तै क्षेत्र नं. ३ को हरिवनमा कार्यालय राख्ने तयारी गरिए पनि भवन भने चयन गर्न बाँकी नै रहेको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ ।

उनले क्षेत्र नं. १ र ३ को हकमा तत्कालै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखले अनुगमन गरेपछि भवनको निधो हुने जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय राख्न गतिलो पूर्वाधारसहित मतगणनाका लागि फराकिलो ठाउँ, पार्किङको व्यवस्था र सुरक्षाको हिसाबले पनि उपयुक्त हुनुपर्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि नै निर्वाचन अधिकृत तोकिसकिएको छ । क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. २ मा सर्लाही जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलिया, क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एक/दुई दिनभित्रै चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ र भवन तय गरिने बताए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि आ–आफ्नो क्षेत्रमा त्यहीँबाट निर्वाचन तयारीका काम अघि बढाउनेदेखि मतगणनासम्मका काम हुने छन् ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा तयारीका काम धमाधम अघि बढेका छन् । फागुन २१ गतेको निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र तोकिसकिएको छ ।

जिल्लामा पाँच लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन् । फागुन २१ को निर्वाचनकै लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीको आवेदन लिने कामसमेत धमाधम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *