सर्लाही, ११ माघ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा पाइल्सको उपचार (अप्रेसन) गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ ।
उपचारका लागि ल्याइएकी लालबन्दी नगरपालिका–२ पुनर्वास निवासी १८ वर्षीया हंसु पासवानको आज दिउँसो मृत्यु भएको हो ।
पाइल्सको समस्याका कारण अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि मोहन आयुर्वेद औषधालयमा ल्याइएकी हंसुको अवस्था गम्भीर बनेपछि नवलपुरबाट नमूना अस्पताल हरिवन लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीका अनुसार उक्त औषधालयले नगरपालिकाबाट कुनै पनि प्रकारको सञ्चालन अनुमति नलिएको पाइएको छ ।
उनले भने, अवैध रूपमा सञ्चालन हुँदै आएको औषधालयमा उपचार गर्दा यस्तो दुःखद घटना भएको बताए ।
लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरणकुमार पासवानले अवैध स्वास्थ्य संस्थाका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको बताए ।
उनले यस्ता अवैध स्वास्थ्य संस्था खोलेर सेवाग्राहीलाई ठग्ने र जोखिमपूर्ण उपचार गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो गरे ।
घटनापछि आक्रोशित स्थानीयवासीले नवलपुर चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पनि अहिले अवस्था सामान्य भएपछि चक्काजाम खुलाइएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले प्रहरी शान्ति सुरक्षाको व्यवस्थापन तथा राजमार्ग खुलाउने कार्यमा खटिएकाले उपचारसम्बन्धी विस्तृत विवरण संकलन भइरहेको बताए ।
प्रहरीले मृतक हंसु पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
