सर्लाही, ११ माघ । सर्लाहीमा फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारवटा निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवार रहने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माघ ६ गते १३३ जनाको उम्मेदवारी दर्ता भएकोमा निर्वाचन आयोगले प्रदान गरेको समयभित्र शुक्रबार एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै १३२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाहीको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका भरतकुमार थापा एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् ।
थापाले शुक्रबार लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता थापाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टीका आधिकारिक उम्मेदवार प्रमोदकुमार साहलाई समर्थन जनाएका छन् ।
सर्लाहीमा १३२ जना उम्मेदवारमध्ये विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिने ६१ जना रहेका छन् । बाँकी ७१ जना स्वतन्त्र उम्मेदवारी दिनेहरु हुन् । महिला छ जना रहेका छन् ।
जिल्लामा स्वतन्त्रबाट उम्मेदवारी दिने ७१ जनामध्ये अधिकांश डमी उम्मेदवार रहेका बताइएको छ । दलका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारमा धेरै भन्दा धेरै गाडी सुविधा लिन डमी उम्मेदवार खडा गरेको चर्चा छ ।
जिल्लामा १३२ जना उम्मेदवार भएसँगै अब मतपत्र छपाईका लागि पनि दल र स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हसहित निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत थपलियाको भनाइ छ ।
निर्वाचन अधिकृतको कार्यालयहरुले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सर्लाहीको क्षेत्र नं. १ मा २८ जना, क्षेत्र नं. २ मा ३१ जना, क्षेत्र नं. ३ मा ३४ जना र क्षेत्र नं. ४ मा ३९ जना उम्मेदवार कायम भएका छन् ।
जति उम्मेदवार भए, उत्तिनै चुनाव चिन्ह भएको मतपत्र छापिएर आउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।
