सर्लाही, ११ माघ । सर्लाहीकाे मलंगवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ ।
दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलंगवावासी सँग अनुरोध गरेको छ ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए ।
अभियानअन्तर्गत मलंगवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलंगवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ ।
समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ । -रासस
