सर्लाही, १२ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रतिस्पर्धा राेचकमोडमा पुगेको छ ।
यस क्षेत्रबाट यसपटक नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा र जनता समाजवादी पार्टीका नेता रामेश्वर राय यादवबीच प्रत्यक्ष भिडन्त हुने भएपछि चुनावी माहोल निकै तातिएको छ ।
राष्ट्रिय राजनीतिमा भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका गगन थापा र सर्लाहीमै लामो समयदेखि बलियो जनाधार बनाउँदै आएका रामेश्वर राय यादवबीचको यो प्रतिस्पर्धालाई राष्ट्रिय लोकप्रियता बनाम स्थानीय जनाधारको टक्कर का रूपमा हेरिएको छ ।
रामेश्वर राय यादवको बलियो स्थानीय पकड
जनता समाजवादी पार्टी , नेपालबाट उम्मेदवारी दिएका रामेश्वर राय यादव सर्लाही–४ मा परिचित र स्थापित राजनीतिक व्यक्तित्व मानिन्छन् । यसअघि सदभावना पार्टीमा यस क्षेत्रमा राम्राे संगठन निर्माण गरेकाले स्थानीय संगठन, कार्यकर्ता सञ्जाल र मतदातासँग प्रत्यक्ष पहुँच बलियो रहेको स्थानीय विश्लेषकहरू बताउँछन् ।
पछिल्ला स्थानीय तह निर्वाचनका नतिजाले पनि सर्लाही–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा त्यससँग नजिक रहेको जनाधार बलियो रहेको संकेत गर्छ । गोडैता नगरपालिकामा जसपा नेपालबाट नगरप्रमुखमा देवेन्द्र यादव निर्वाचित भएका छन् । बलरा नगरपालिकामा नगरप्रमुख पदमा पराजित भए पनि अभय सिंहले उल्लेख्य मत प्राप्त भएको थियो, जसले यहाँ जसपा तथा सहयोगी धारको राम्रो जनमत रहेको देखाउँछ ।
यस्तै, विष्णु गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदमा जसपा समर्थित उम्मेदवार थोरै मतान्तरले पराजित भएका थिए भने बसबरिया गाउँपालिकामा गाउँपालिका अध्यक्षमा रामसिहासन यादव विजयी भएका छन् । यी परिणामले सर्लाही–४ मा जसपा नेपाल र त्यससँग जोडिएको राजनीतिक धारको स्थायी मताधार स्पष्ट रहेको पुष्टि गर्ने स्थानीय नेताहरूको भनाइ छ ।
जातीय समीकरणमा रामेश्वर बलियो
सर्लाही–४ को चुनावी गणितमा जातीय समीकरण पनि निर्णायक मानिन्छ । उपलब्ध तथ्याङ्कअनुसार यस क्षेत्रमा करिब १४ हजार यादव मतदाता, १५ हजार कुशवाहा मतदाता रहेका छन् । त्यस्तै, सरदर ४ हजार राजपूत र भूमिहार, करिब ८ हजार ब्राह्मण, १२ हजार सहनी–माझी, ८ हजार दलित तथा करिब १ हजार मुस्लिम मतदाता रहेको अनुमान छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार रामेश्वर राय यादवको यादव, कुशवाहा र सहनी समुदायमा राम्रो पकड रहेको छ । यी समुदायको ठूलो मत हिस्सा सर्लाही–४ मा निर्णायक भएकाले जातीय समीकरणका आधारमा पनि यादवलाई तुलनात्मक रूपमा बलियो उम्मेदवार मानिएको छ । यही कारण गगन थापाभन्दा रामेश्वर राय यादवको प्रारम्भिक मतस्थिति बलियो देखिएको विश्लेषण गरिन्छ ।
गगन थापाका लागि स्थानीय परीक्षा
उता नेपाली कांग्रेसका सभापति गगन थापाको उम्मेदवारीले सर्लाही–४ लाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ । मधेसको मतबाट देशको नेतृत्वमा पुग्ने सन्देशसहित मैदानमा उत्रिएका थापाले यस क्षेत्रलाई राजनीतिक जोखिम र अवसर दुवै का रूपमा लिएका छन् ।
तर, २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेश सिहं निर्वाचित भएको इतिहास र अहिले रामेश्वर राय यादवजस्तो बलियो स्थानीय जनाधार भएका उम्मेदवारसँगको प्रतिस्पर्धाले थापाका लागि चुनाव सजिलो छैन । राष्ट्रिय लोकप्रियता भए पनि स्थानीय तहमा संगठन र सामाजिक सम्बन्ध बलियो बनाउनुपर्ने चुनौती थापासामु देखिन्छ ।
सर्लाही–४ मा मतदाताको बहस अहिले स्पष्ट रूपमा दुई ध्रुवमा देखिन्छ । एकथरी मतदाता राष्ट्रिय नेतृत्वलाई मधेसबाट जिताएर पठाउनुपर्ने पक्षमा छन् भने अर्काथरी मतदाता ‘हामीसँग बसेर राजनीति गर्ने, स्थानीय समस्या बुझ्ने नेता’ रोज्नुपर्ने तर्क गर्छन् ।
स्थानीय विश्लेषकहरूका अनुसार यस निर्वाचनमा पार्टीको झण्डाभन्दा पनि व्यक्ति, जनाधार र सामाजिक सम्बन्ध निर्णायक हुने सम्भावना बढी छ। यही कारण रामेश्वर राय यादव र गगन थापाबीचको प्रतिस्पर्धालाई सर्लाही–४ को मात्र होइन, राष्ट्रिय राजनीतिलाई सन्देश दिने चुनावका रूपमा हेरिएको छ ।
स्थानीय तहको नतिजा, जातीय समीकरण र स्थापित जनाधारलाई हेर्दा सर्लाही–४ मा रामेश्वर राय यादवलाई जित निकाल्न त्यति गाह्रो नपर्ने आकलन भइरहेका छन् । तर गगन थापाको राष्ट्रिय छवि र कांग्रेसको सांगठनिक शक्ति मिलेर नतिजा उल्टिन सक्छ कि सक्दैन भन्ने प्रश्नले चुनावी चासो झन् बढाएको छ ।
