सर्लाही, १४ माघ । परराष्ट्र मन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मंगलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् ।
लालबन्दी नगरपालिका २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्वाचन लक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
उनले यो पटक सर्लाहीमा मुलुकका शीर्षस्त नेताहरु समेत आएर चुनावी मैदानमा होमिएकाले थप चनाखो भएर कुनै विवाद सिर्जना नहुने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिएका सर्लाहीका एक सुरक्षा अधिकारीले बताए ।
मन्त्री शर्मा निर्वाचन लक्षित शान्ति, सुरक्षाको अवस्था र तयारीबारे बुझ्ने क्रममा आज साँझ सर्लाही आइपुगेका हुन् । उनले जिल्ला सदरमुकाम मलंगवा नै पुगेर सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको थियो तर समय अभावका कारण सुरक्षा अधिकारीलाई अपर्झट पाँचकुमारीस्थित नेपाली सेनाको गणमै बोलाएर छलफल गरेका हुन् ।
मन्त्री शर्मालाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेललगायतले सुरक्षा अवस्था र चुनावी तयारीबारे जानकारी गराएर बिदाई गरेका छन् ।
निर्वाचन सुरक्षा रणनीति बनाउनकै लागि जिल्लाका सुरक्षा अधिकारीहरुले अहिले मतदानस्थलको निरीक्षण गर्दै आइरहेका छन् ।
सर्लाहीमा ३१२ मतदानस्थलमध्ये १५८ अति संवेदनशील, १३१ संवेदनशील र २३ वटा सामान्य सूचीमा रहेका छन् ।
चारवटै निर्वाचन क्षेत्रमा कूल पाँच लाख ११ हजार ६०६ मतदाता रहेको सर्लाहीमा क्षेत्र नं. १ बाट २८ जना, क्षेत्र नं. २ बाट ३१ जना, क्षेत्र नं. ३ बाट ३४ जना र क्षेत्र नं. ४ बाट ३८ जना गरी १३१ जना जना चुनावी प्रतिस्पर्धामा रहेका जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।
