सर्लाही, १५ माघ । सर्लाहीको क्षेत्र नं. ४ स्थित गोडैता नगरपालिकाका ४ जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई बुधबार बिहान नेपाली कांग्रेसका सभापति एवं फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही–४ बाट पार्टीका उम्मेदवार गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरुमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित गोडैता–१ का वडाध्यक्ष सोजित महतो, माओवादीबाटै निर्वाचित गोडैता–२ का वडाध्यक्ष अजयप्रसाद साह, लोकतान्त्रिक पार्टी नेपालबाट निर्वाचित गोडैता–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता र नेकपा एमालेबाट निर्वाचित गोडैता–११ का वडाध्यक्ष विश्वनाथ पण्डित रहेका छन् ।

४ वडाध्यक्षसहित गएको प्रदेश सभा सदस्य निर्वाचनमा बहुजन एकता पार्टी नेपालबाट सर्लाही ४ (ख) मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाहासमेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

वडाध्यक्षहरु र प्रदेश सभा सदस्यका प्रत्यासीले फागुन २१ को निर्वाचनमा कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको सभापति थापालाई जिताउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश गरी सभापति थापालाई समर्थन गरिसकेका छन् ।

४ जना वडाध्यक्षसहित अन्य नेताहरु कांग्रेसमा प्रवेश गरेसँगै सर्लाही ४ मा नेपाली कांग्रेस थप मजबुत बनेको पार्टीका पूर्व सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

बुधबार बिहान क्षेत्र नं. ४ को धनकौलमा नव प्रवेशीहरुलाई अबिर र गम्छा लगाइदिएर स्वागत गर्दै पार्टी सभापति एवं उम्मेदवार थापाले विशेष महाधिवेशनबाट बदलिएको कांग्रेससामु अब देश बदल्ने जिम्मेवारी प्राप्त भएको बताए ।

तीन दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेका सभापति थापाले बुधबार धनकौल, रामनगरलगायत पालिकाका अगुवा नेता कार्यकर्तासँग भेटघाट र घरदैलो गरिरहेका कांग्रेस नेता गजेन्द्र साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *