सर्लाही, १७ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।

बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बीआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोल निवासी ६५ वर्षीया शान्ती देवी ठाकुरलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएकी ठाकुरको टाउको, निधार र ढाडमा गम्भीर चोट लागेको थियो ।

घाइते ठाकुरलाई प्रारम्भिक उपचारका लागि अमृत हेल्थ केयर, बयलबासमा भर्ना गरिएको थियो । उनको अवस्था मध्यम रहेको भए पनि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । तर, वीरगञ्जस्थित वीरगञ्ज न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक चन्द्रनगर गाउँपालिका–३ बडकुर्वा निवासी २० वर्षीय विशाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *