सर्लाही, २० माघ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सम्राट होटल अगाडि ट्याक्टर र कार एक-आपसमा ठोक्किँदा दुवै सवारी साधनका चालक घाइते भएका छन् ।

पश्चिमतर्फबाट हरिवन आउँदै गरेको ना. ६ त ८८९८ नम्बरको ट्याक्टर र हरिवनबाट पश्चिमतर्फ जाँदै गरेको बा २० च १११६ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्याक्टर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–४ छतौना निवासी २५ वर्षीय मुकेश यादव र कार चालक हरिवन नगरपालिका–९ नयाँरोड निवासी ३८ वर्षीय समिर खड्का घाइते भएका छन् ।

ट्याक्टर चालक यादवको हरिवनमै उपचार भइरहेको छ भने कार चालक खड्कालाई सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ ।

दुर्घटनापछि ट्याक्टरमा क्षति पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार कारसँग ठोक्किँदा ट्याक्टरको अगाडिको भाग तीन टुक्रामा भएका छन् ।

दुवै सवारी साधन इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *