सर्लाही, २१ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधनपश्चात निर्वाचनमा षडयन्त्र गर्न खोजेको आरोप लगाएका हुन् ।
कसैको एजेण्डा स्थापित गर्न सरकार माध्यम बन्न लागेको उल्लेख गरे। बस्नेतले हिमाली जिल्लामा अहिले निर्वाचन सम्भव छैन भन्ने देखाएर सरकारले नै मतपेटिका राखेर चलखेल गर्ने, गम्भीर धाँदली गर्ने तयारीमा रहेको उल्लेख गरे ।
उनले सरकारका गतिविधिले नै निर्वाचनस्वच्छ हुन नसक्ने देखिएको बताए ।
मंगलबार प्रधानमन्त्री सुशिला कार्कीले मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्ने धारणा राखेकी थिइन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरूमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताएकी थिइन् ।
भक्तपुरबाट एमालेको सांसदको उम्मेदवार बनेका बस्नेतले सार्वजनिक सत्ता जोगाउने विषय अहिलेको प्राथमिकता रहेकाले एमाले त्यसतर्फ लागि परेको बताए ।
उनले भदौ २३ गतेको २ बजेसम्म शान्तिपूर्ण जेनजीको आन्दोलनलाई एमालेले समर्थन गरेको बताए । उनले २ बजेपछि र भदौ २४ गतेको घटनालाई आपराधिक घटनाको रुपमा लिएको उल्लेख गरे ।
अहिले जनताका एजेण्डा स्थापित भन्दा पनि साम्राज्यवादी मुलुकका एजेण्डा सामाजिक सञ्जालबाट स्थापित गर्ने प्रयास भइरहेको धारणा राखे। उनले नेपालमा निर्वाचनबाट नयाँ जेलस्की उत्पादन गर्ने तयारी भइरहेको आरोप लगाएका हुन् ।
