सर्लाही, २१ माघ । बलिउड सुपरस्टार रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लामो यस टिजरमा रणवीर सिंह पुनः एकपटक आफ्नो दमदार र खतरनाक अवतारमा देखिएका छन् ।

हातमा बन्दुक, छोटा कपाल र आँखामा प्रतिशोधको ज्वाला बोकेका रणवीरको लुक्सले दर्शकमाझ निकै कौतुहलता जगाएको छ । टिजरमा रणवीर पुनः हमजा अली मजारीको भूमिकामा फर्किएका छन्, जसले यसपटक जसकीरत सिंह रङ्गी हमजामा कसरी परिवर्तन भयो र उसको परिवारले भोग्नुपरेको संकटको कथालाई उजागर गर्ने संकेत दिएको छ ।

यसपटकको श्रृंखलामा कलाकारहरूको जम्बो टोली देख्न पाइनेछ । टिजरमा रणवीरका साथै अर्जुन रामपाल, सञ्जय दत्त र आर. माधवनको झलक देखाइएको छ ।

अर्जुन रामपालले ‘मेजर इकबाल’ नामक मुख्य खलनायक (आईएसआई एजेन्ट) को भूमिका निभाएका छन् भने सञ्जय दत्त एसपी चौधरी असलमको रूपमा देखिएका छन् । यस्तै, आर. माधवन अजय सान्यालको भूमिकामा दोहोरिनेछन् । 

पहिलो भागमा मृत्यु भइसकेका कारण अक्षय खन्ना भने टिजरमा देखिएका छैनन्, उनलाई फ्ल्यासब्याक दृश्यहरूमा मात्र देख्न सकिने सम्भावना छ । 

टिजरले सार्वजनिक भएको छोटो समयमै युट्युबमा रेकर्ड कायम गरिरहेको छ। रिलिज भएको पहिलो घण्टामै करिब ८ लाख ३३ हजारभन्दा बढी पटक हेरिएको यो टिजरले ‘रकी और रानी की प्रेम कहानी’, ‘पठान’ र ‘केजीएफ २’ जस्ता ठूला फिल्मको रेकर्डलाई समेत पछाडि पारेको छ । हालसम्म यसलाई ७२ लाखभन्दा बढीले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *